पाल्पामा २७ असल बुहारी सम्मानित
पाल्पा | जेठ ३१, २०७९
सांकेतिक तस्बिर
पाल्पा : सासू–ससुराको राम्रो हेरचाह, पालनपोषण गर्ने असल बुहारीलाई सम्मान गरिएको छ । पाल्पाको निस्दी गाउँपालिका–४ मित्यालको आयोजनामा परिवारका ज्येष्ठ नागरिक तथा सासू–ससुरालाई राम्रोसँग हेरचाह गर्ने बुहारीलाई सम्मान गरिएको हो ।
मित्यालका २७ बुहारीलाई लत्ताकपडा र सम्मानपत्रले सम्मान गरिएको छ । वडाले पहिलोपटक ल्याएको यस कार्यक्रम उदाहरणीय रहेको र सासू–ससुरालाई अपहेलना गर्ने बुहारीलाई थप जिम्मेवारी बन्न सिकाउने स्थानीयवासी धनबहादुर ठाडाले बताउनुभयो ।
वडा कार्यसमिति र सरोकारवालाले टोल–टोलमा पुगेर सासू–ससुरालाई राम्रोसँग लालनपालन, माया–ममता, स्याहारसुसार गर्ने बुहारी छनोट गरी सम्मान गरिएको वडाध्यक्ष सन्तवीर सुनारीले जानकारी दिनुभयो ।
समाजमा हिजोआज छोराबुहारी विभिन्न पेशा, व्यवसायमा व्यस्त रहने हुँदा घरमा एक्लै बस्नुपर्ने बाध्यता छ । पेशा, व्यवसायको व्यस्तता कतिपयले बुढ्यौली टेकेका सासू– ससुरालाई राम्रो स्याहारसुसार गर्न भ्याउँदैनन् भने कतिपयले ज्येष्ठ नागरिक भनेपछि अपहेलना गर्ने प्रवृत्ति छ ।
धनमाया ठाडाले घरका सासू–ससुरालाई राम्रो स्याहारसुसार गरेको भन्दै आफूलाई असल बुहारीका रूपमा सम्मान गरेकामा खुसी लागेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “घरका सासू–ससुरा भनेको हाम्रो अभिभावक हो, जन्मदिने बुवाआमासरह नै हामीले मायाममता, स्याहार संरक्षण गर्नुपर्दछ, उहाँहरूलाई खुसी बनाउन सकियो भने परिवार खुसी हुन्छ, हामीलाई आत्मसन्तुष्ट मिल्नेछ ।”
कतिपय परिवारमा सासू–ससुरा उमेर ढल्कँदै गर्दा घरबाट निकाला गरिदिने, वृद्धाश्रममा लगेर राखिदिने पनि बुहारी हाम्रै समाजमा छन् । ज्येष्ठ नागरिक समाजको अभिभावक, मार्गदर्शक भएकाले उनीहरुको सदैव मायाममता, पालनपोषण गरियो भने परिवार, समाजमा खुसी मिल्नेछ ।
काठमाडौं: नेपाली कांग्रेसको १५ औं महाधिवेशन आगामी वैशाख २८ गतेदेखि ३१ गतेसम्म काठमाडौँमा हुने भएको छ। शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले यसअघि ...
गण्डकी: कास्कीको मादी गाउँपालिका–१ स्थित पर्यटकीय गाउँ सिक्लेसमा सूचना केन्द्र सञ्चालनमा आएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को सहयोग एवम् वडा कार्यालय र स्थानीय पर्यटन व्यवसायीको समन्वयमा के...
काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएकामा आज दुवै धातुको मोल केही बढेको छ । आज छापावाल सुन प्रतितोला रु दुई लाख ६२ हजार ५०० र त्यति नै चाँदीको मोल र...

